शहकारीले फेरियो दलित बस्ती
Published on
8:48:00 AM //
प्रेम सुनार
गुल्मी, असौज २४ । ‘हामी सामान्य विरामी भएर उपचार खर्चका लगि २-४ सय ऋण लिन साहु महाजनको घरमा जाँदा विहानभरी कजिनु पर्दथ्यो अहिले सहकारी खोलेपछि त्यो चाकरी र ज्यु-हजुरी गर्नु पर्दैन’ गुल्मीको हस्तीचौर– ४ उजुङ गाउँकी माया बिश्वकर्माले भनिन– ‘अहिले त यो दलित वस्तीको सभ्यता नै बदलिएको छ ।’ मानिस असभ्य आर्थिक कारणले नै हुन बाध्य हुँदोरहेछ’ उनले थपिन्– ‘नचाहेर पनि अरुको दासत्व सहर्ष स्वीकार्ने कारण पनि पैसा नै रहेछ ।’
ठूलाबडाकहाँ ऋण लिने र वर्षैासम्म हली–गोठाल्याई, मेलापात गरेपनि थैलो भने ज्यूँकात्युँ अनि पछि न घरमा ब्याएको भैँसी राख्न पाइने न त अलि गतिलो बारी नै । क्रमश दलितहरु घर–खेत नै फाल्नुपर्ने स्थिती आएपछि दलित अगुवा प्रेमबहादुर विश्वकर्माले २०६५ सालमा १८ जना दलितहरुबाट रु ५० का दरले बचत संकलन सुरु गरे ।
त्यही बचत संकलन लिएर पाल्पामा गई जलपा बचत तथा ऋण सहकारी संस्था लि.हस्तिचौर ४ उजुङ्ग गुल्मी दर्ता गरियो । अहिले त्यो सदस्य संख्या बढेर २६० जना पुगेका छन् । जसमा महिलाहरु १ सय ८० र पुरुषहरु ८० जना रहेका छन् । त्यस्तै वालबचत १ सय ८४ जनाले गरेका छन् । सुरुमा जम्मा ९ सय पूँजीबाट सुरु गरिएको सहकारी संस्था ५औँ साधारण सभामा आईपुग्दा प्रति शेयर एक सयका दरले २६ लाख रुपैँयाको पूजी भएको छ । २२ लाख बढि रकम कृषि र कुखुरा, पशु पालनमा लगानी गरिएको छ ।
उजुङ्गको दलित बस्तीको मात्र मुहार फेरेन त्यस सहकारीले । हस्तीचौर ७ र ८ पालुखाको दलित बस्तीको समेत मुहार फे¥यो । त्यस गाउँका मानबहादुर विश्वकर्मा सहकारीको उपाध्यक्ष बने । उनले दलितहरुको घर–घरमा पुगेर सदस्य बनाए । ‘उतिबेला किन कर गर्छ भनेर गलत पनि सोंच्ने गर्थे’ मानबहादुरले भने –‘अहिले बल्ल ठीक बाटो लगाएछस् तैंले भन्छन् ।’ ‘अहिले दलितहरु ठूलाबडाकहाँ ऋण सापटी माग्नको लागि सेवा चाकडी गर्नुपर्दैन’ उनले थपे–‘मजदुरी गर्न त हिड्छन तर आफ्नो मुखको मोलमा ’ साधारणसभामा कोषध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै नविन विश्वकर्माले भने–‘हिजो दलित मात्रै छन् भनेर नाक खुम्च्याउने गरिन्थ्यो अहिले सर्वजातिय सहकरी बनेकोमा गर्व लागेको छ । ’
सदस्यले आफ्नो बचतको दोब्बर ऋण पाउने, १२ प्रतिशत ब्याज लाग्ने र त्यो ऋण विपतको समय बाहेक कृषि, पशुपालन र अन्य उत्पादन मुलक कार्यमा लगानी गर्ने गरेको कोषध्यक्ष नविनले बताए ।
‘६५ घर धुरी दलित वस्ती रहेको उजुङ गाउँ हस्तीचौरका ठुला जाति भनिनेहरुका लागि कुनै समय मेलापातमा सस्तैमा खेतलाहरु (मजदुरहरु) पाईने गाउँका रुपमा चिनिन्थ्यो‘’ सस्थाका सचिव सुमन विश्वकर्माले भने –‘अब यहाँका दलितलाई सस्तोमा कजाउने चलनको अन्त्य यसै सहकारीले गरेको छ ।‘ हिउँदको अनिकालमा २,४ पाथी अन्न दिने वा दुख विमारमा २,४ सय सापटी दिएपछि ब्याजको स्याज वनाउँदै बर्षौ सम्म दलितहरु कजाउने गरिन्थ्यो उनले थपे– ‘दलितको घरमा अलि गतिलो भैसी ब्याए पनि आँखा गाड्ने र गतिलो जग्गा जमिन पनि तिनै साहुको ब्याजको स्याजमा लिने प्रवृतिको अन्त्य गर्दैछौं ।’
हस्तीचौरको जालपा देवि उजुङ्गकोट (मन्दिर) प्राङ्गणमा सहकारीको ५ औं साधरण सभामा सहभागी । तस्विरः प्रेम सुनार |
साधारणसभाको उद्घाटन गर्दै हस्तीचौर गाविस सचिव कृष्णबहादुर रायमाझिले गाउँका ठूलाबडाको श्रमशोषणबाट मुक्ती दिलाउन सफल भएको भन्दै संस्थालाई बधाई दिए । नेकपा एमाले निकट निकट जातीय मुक्ति समाजका जिल्ला अध्यक्ष दलबहादुर विश्वकर्माले आर्थिक उपार्जन विना दलितहरुको मुक्ति असंभव भएकोले सहकारीको माध्यमबाट समतामूलक समाजको अपेक्षा राखिएको बताए ।
दलितहरु आफैमा स्वाबलम्बी र सभ्य हुन सके जातीय विभेद नरहने उनको धारणा थियो । सस्थाका सल्लाहाकार समेत रहेका एकीकृत ग्रामीण विकास समाज गुल्मीका सचिव कृष्ण विश्वकर्माले ऋण लिने र खानपिनमा खर्च गर्ने लाई ऋण दिनु गलत भएको भन्दै उत्पादन मुलक क्षेत्रमा लगानी गर्न सल्लाह दिएका थिए । दलितहरु सहकारीको माध्यमबाट सु–सुचित भएपछि अहिले उजुङ्ग गाउँ जाँडरक्सी निषेध क्षेत्र घोषणा भएको छ । सहकारी र प्रहरीले गठन गरेको टोलसुधार समितिले जाँडरक्सी पूर्णतः निषेध गरेको हो ।
समितिका अध्यक्ष रामप्रसाद पाण्डे र सचिव एवं सोही सहकारी संस्थाकी संचालक समिति सदस्य विमला खत्रीले त्यसको अगुवाई गरेका छन् । अहिले त्यो गाउँका कुनै पनि पसलमा मदिरा बेच्ने र खाने दुवैलाई कार्वाही हुन्छ । प्रहरीसँग मिलेर करिब ५० हजार बराबरको मदिरा जफत गरी २ वटा पसलेहरुलाई जरिवाना समेत गरिएको छ खत्रीले भनिन् चुनौतीका बाबजुत पनि सफल भएका छै । ‘बिहानैदेखि खल्तीमा टुङ्कुलो रक्सी राखेर हिड्ने र रातभरी घरमा श्रीमती कुट्ने यहाँका दलित अहिले पण्डित जी जस्ता भएका छन’् पाण्डेले भने –‘यस्तो सभ्यता भएपछि के को उच निच ।’ उजुङ्ग गाउँको यो परिवर्तनलाई जिल्लाकै नमूना र अन्य गाउँका दलितहरुका लागि पनि अनुकरणीय भएको साधारणसभाका अधिकांश राजनीतिक दलका बक्ताहरुको धारणा थियो ।