बाबुको हत्यापछि आरन सम्हाल्दै १० बर्षिया छोरा
Published on
5:32:00 AM //
प्रेम सुनार
कार्तिक २४, गुल्मी । बाबु जनकको असोज १५ गते राती आफ्नै आरनसंगैको बास स्थानमा आफ्नै साथीले घाँटी रेटेरे हत्या गरे । त्यसपछि हप्तौसम्म उजाड बनेको त्यो आरन आफै रोईरहेको थियो । जनकले लगाउने पाईन्ट आरन नजिकै फ्याँकिएको थियो रगतका छिर्काहरु । झिँगाहरु भन्किएका । वास्तबमा त्यो आरन एकदमै एकदमै सुनसान र उदेकलाग्दो थियो । विश्वकर्माका स–साना ९ छोरा छोरीहरु । मृत्युको खवर पाउन साथ छोरालाई भेट्न भारत गएकी श्रीमति र छोराहरु रुदै कल्लाउँदै फर्किए । तम्घास चारीखोलाको त्यो आरनमा नपसी सिधै लागे आँसुका धारा बगाउँदै पुख्यौली घर पुर्कोटदह तर्फ । न प्रशस्त जग्गा जमिन, न त ओत लाग्ने गतिलो स्थान नै । काजकृया सकेपछि कहाँ बस्ने त ? परिवार अल्लमल्लमा पर्यो । बाबुको हत्या भएको तम्घासको त्यो डेरामा बस्ने मन त कहाँ थियो र ? तर मजबुरी बस्ने कहाँ ?
बाबुको हत्यापछि आरन सम्हाल्दै १० बर्षिया छोरा, बिशाल । तस्बिर: प्रेम सुनार |
असिना पसिना हुदै राम्ररी नतातेको फलाम पनि बाबुकै तालमा पिट्दै थिए । उनि संगैका साथी स्कुल जान्छन् । राम्रो लुगा, मिठो खानेकुरा खोज्छन तर बिशाललाई भने स–परिवारको हात मुख कसरी जोड्ने हो भन्ने जिम्मोवारीको भारीले थिचिसकेको छ । आउन त दाजु शंकर पनि दिल्लीबाट आएका छन.् तर जति दाजुमा जिम्बेवारीबोध छ त्याति नै १० वर्षे बालक बिशालमा भएको पायौं हामीले ।
बाबु तिमी त एकताका सडकमा खेल्न गएर बाबु आमालाई दिक्क पार्दथ्यौ अहिले त काम गर्न थालेछौ नि भनेर भन्दा उनले आफ्नो काम नबिसाई भने –‘अब त खेल्न कहाँ जाने ? बुवा हुनुहुन्न । उनले थपे–‘दाजु पर कस्कोमा हो कुन्नी जानु भाछ, आमा पनि उपल्लो तम्घासतिर खै के लिन हो जानु भको छ, मैले यिनी भाँडाहरु अर्जाप्दै छु ।’ कतै बाबुको जस्तै काम गर्ने भोकै मर्ने चलनको नियति उनले पनि भोग्नु पर्ने होकी भन्ने मेरो मनमा पिर सल्लबलायो । हो । उनकै उमेरदेखि बाबु जनकले पनि त्यसै आरने पेशा सम्हालेका थिए । बाली घरे काम गरेका जनकले पुर्कोटदहमा सय डेढसय घर बिस्टा कमाएर पनि परिवार पाल्न मुस्किल प¥यो र सदरमुकाम तिर स–परिवार हानिए । सुरुमा तम्घासको क्याम्पस रोड छँदा काम असाध्धै चलेको थियो । तर जव उनि चारी खोला डेरा सारे अलि बिकुनो भएकोले काम त्याति चल्न सकेन । त्यस घटनाको केहि दिन अघि मात्र हामी उनिकहाँ पुगेर रेडियो रिर्पोट तयार गरेका थियौ । उनले भनेका थए ‘आठ बर्ष भयो म यो तम्घासमा आएर बसेको तर मलाई एउटा आरनसम्म सहयोग गर्ने कुनै दलित नेता भएनन् । म आखिर यसै जिल्लाको मान्छे हुँ तर रिफ्युजी जस्तो ठानेका छन् । अझ मेरो १० चोटी आएर फोटो खिच्न आउँछन । खै के पाईयौ हामीले ? उनले यस्तो प्रश्न गर्दै आक्रोश पोखेका थिए की "अब तपाईहरु पनि मेरो आरनको फोटो नखिच्नुहोस् ।"
हुन पनि विध्यार्थी भर्ना अभियानको तेश्रो बर्ष पनि हामी उनको फोटो खिच्न र उनका छोराछोरी स्कुल भर्ना भएकी भएनन् भनेर सोध्न गएका थियौ तर यसपाली पनि कोही मान्छे तिम्रा छोराछोरी भर्ना गरिदिन्छौ भनेर भन्न नआएको उनले गुनासो गरेका थिए ।
हालै सम्पन्न महायज्ञमा शैक्षिक बिकासका लागि भन्दै फुलमाला अविर बाजागाजाको स्वागत खाँदै लाखौ रुपैयाँ चन्दा दिनेहरु ५० चोटी त्यहीबाटो हिड्छन् तर ति जनकका छोराहरु स्कुल नगएको थाह पाएर पनि किन स्कुल पठाएनौ भनेर सोध्ने चेष्टा गर्दैनन् । शिक्षा प्रेमी कस्तालाई भन्ने ? आफ्ना छोरा छोरी क्याम्पस पढाउन र जागिर खुवाउनका लागि कि ? गरिवका छोराछोरीले पनि कमसेकम आधारभुत शिक्षा पाउन भन्नका लागि ? यस्तो प्रश्न पनि उठ्न थालेको छ ।
अरुलाई मात्र के को आक्षेप ? दलित नेताहरु कै छोरा छोरीले महँगा महँगा बोर्डिङ्ग स्कुल पढ्छन् तर जनक जस्ता दलितका छोरा छोरीले सरकारी बिद्यालयको समेत मुख देख्न पाउँदैनन भनेर प्रति प्रश्न गर्छन् गैह्र दलितहरु । दलितका लागि सरकारी एवं गैरसरकारी निकायबाट आउने रकमबाट उनै हर्ताकार्त र करोडौका मालिक दलितका छोराछोरीले रोजगार पाउँछन् तर पहुँच नहुने गरिव दलितले पाउँदैनन भनेर प्रश्न त उनै स्वर्गिय जनकले पनि गरेका थिए । सुन्ने भए उनको आवाज हामीसंग सुरक्षित छ।
यहाँ करौडौका मालिक दलितका नेत बनेर हिड्ने र कार्यक्रम आफ्नै पोल्टामा पार्ने तर जनक जस्ता गरिवहरुले एउटा मेशिन समेत नपाउने कुराले सरकार वा गैर दलितसंग होईन अब आन्दोलन दलित बिरुद्ध दलितले नै गर्नु पर्ने बेला आएको जनक जस्ता निमुखा दलितहरुले गर्न थालेका छन् । ख्याल गरौ है दलित नेताहरु दलित उत्थानका लागि संघर्ष गरेकै भए जनक जस्ता दलित खोजौ न कि करोडौंका मालिक ।
एक चोटी गएर जनकको त्यो रुग्न आरनमा दश बर्षिय बालक तातो फलाम संग लडेको हेरौं । ति लालाबालाको बिचल्लीप्रति थोरै भए पनि सहयोगको भावनाले हेरौं छैन संस्थामा भने तपाईले एनजिओ आईएन्जिओबाट खाने तलबको सानो हिस्सा काटेर पनि दिऔं अन्यथा दलितका नाममा संस्थामा बसिरहनुको अर्थ नै के होला र ?