बागलुङ र गुल्मीका सीमा क्षेत्रका गाबिसमा ‘न्वागी पर्व’ धुमधाम संग सम्पन्न
Published on
6:15:00 PM //
शान्ति छन्त्याल
बागलुङ मंसीर ६ । बागलुङ र गुल्मीका बासिन्दाले बुधवार न्वागी पर्व धुमधामका साथ मनाएका छन् । बागलुङको ग्वालीचौरमा बुधवारदेखि न्वागी मेला सुरु भएको छ । संस्कृतको ‘नवात्र’ शब्द नेपालीमा ‘नुवागी’ हुँदै अन्तत: ‘न्वागी’ उच्चारण गरेको पाइन्छ । प्रत्येक वर्ष नयाँ धानबाली पाकेपछि जदनको काँचो चामलमा दही, केरा, सिलाम, चिनी, सुकुमेल र अन्य मसला एकै ठाउँमा मिलाई त्यसलाई राम्ररी मुछेर विधिर्पूवक देवता तथा पितृहरूलाई चढाइसकेपछि त्यसलाई प्रसादस्वरूप खाने परम्परा रही आएको छ । तिथिमिति अनुसार न्वागी पर्वका दिन सबैको घरघरमा विहान एकै समयमा पुजापाठ गरी न्वागी खाएको दिनदेखि नयाँ धान प्रयोगमा ल्याउने प्रचलन रहेको छ । नयाँ धान भित्र्याई तुलसी, राधा, दामोदरको विधिर्पूवक विवाह सम्पत्र गरी न्वागी खाने गरिन्छ ।

यसअवसरमा कृषि मेला प्रदर्शनी सहित खुल्ला पुरुष भलिवल, खुल्ला लोकदोहोरी, खुल्ला लोकनृत्यलगायत विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । भने कृषि मेला प्रदर्शनीमा तरकारीबाली, खाद्यान्न, फलफुल, नगदेबाली, र तेलहनबालीलगायको प्रदर्शनी हुँदैछ ।
किसानहरुको उत्पादन क्षमतामा वृद्धि गर्ने उद्देश्यका साथ कृषि विकास समिति ग्वालीचौरको आयोजना हुन लागेको उक्त प्रदर्शनीमा बागलुङ र गुल्मीका गरी झण्डै एक दर्जन गाविसका कृषकहरु सहभागी हुँदैछन् ।