Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सारंगी रेटेरै परिवार पाल्दै

Published on 5:34:00 PM //


विष्णु पौडेल
गुल्मी, २५ पुस । आधुनिक सूचना प्रविधिको विकासअघि सूचनाप्रवाहको माध्यम बनेको गन्दर्भ जातिको गाइने पेसा पछिल्लो समय जीवन गुजारा गर्ने बाटो बनेको छ । युवापुस्ताको बेवास्ताका कारण लोप हुने अवस्थामा पुगेको गाइने पेसाबाटै गुल्मीको वडागाउँ गाविसका धनबहादुर गन्दर्भले भने जीवन गुजारा गर्दै आएका छन् । १२ वर्षदेखि सारंगी बजाउन सुरु गरेका उनले सारंगी बजाएरै ११ जनाको परिवार धान्ने गरेका छन् । चार छोरा पाँच छोरी र आफूहरू श्रीमान् श्रीमतीले यही सारंगी बजाएर नै बिहान बेलुकाको गुजारा चलाउने गरेको धनबहादुर बताउँछन् ।

अहिले छोराछोरीको बिहे भएर आफ्नै बाटो गर्न थाले पनि नौजना छोराछोरीलाई सारंगी बजाएर हुर्काएको उनले बताए । ‘अहिले त छोरा ठूला भए बिहे गरिदिएँ, छोरीहरूको पनि बिहे गरिदिएँ,’ राजधानीसँगको भेटमा उनले भने, ‘यिनीहरूलाई यही सारंगी रेटेरै आएको अन्नपातले हुर्काएको हुँ, अहिले आ–आफ्नो बाटोमा लागेका छन् ।’ सारंगी रेटेर दुःखसँग हुर्काएका छोराछोरी कसैले पनि उनलाई बुढेसकालमा साथ दिएका छैनन् । अहिले बूढाबूढी र एउटी छोरी मात्रै घरमा छन् । ‘कति दुःख कष्टले छोराछोरी हुर्काएँ, गहभरि आँसु झार्दै धनबहादुरले भने, ‘बुढेसकालमा पनि यसरी प्राण धान्न सारंगी बजाउँदै हिँड्नुपरेको छ ।’

छोरीहरू बिहे गरेर अर्कैको घर गएका छन्, छोराहरू पनि बुहारीको पछि लागेर कोही मधेस, कोही दिल्ली, कोही कता कोही कता छन् । घरमा हामी बूढाबूढी र कान्छी छोरी मात्रै भएको उनले बताए । आर्थिक अवस्था निकै कमजोर भएको बताउने धनबहादुरको आफ्नो भन्ने घामपानी ओत्ने एउटा झुपडीबाहेक ४ माना मकैको बीउ लाग्ने बारी छ । ‘बारीको नाममा ४ माना मकैको बीउ लाग्छ,’ उनले भने, ‘मकै एकमुरी, कोदो १५ पाथी हुन्छ, यसले जम्मा २ महिना खान पुग्छ ।’ अरू १० महिनाको खाना उनले सारंगी बजाएरै जुटाउने गरेका छन् । दिनभरि डुलेर एक दुई सय पैसा र ५÷६ पाथी अन्न जम्मा हुने उलने सुनाए ।

‘दुःख, पीर वेदनालाई सारंगी रेटेर सुनाउँछु,’ उनी भन्छन्, ‘यही सुनेर कसैले ५ रुपैयाँ दिन्छन्, कसैले गाली गरेर फर्काउँछन् । कसैले एकदुई माना अन्न दिन्छन् ।’ भदौ महिनादेखि जेठसम्म सारंगी बजाउँदै गाउँ–गाउँ डुल्ने धनबहादुर एक महिनापछि घर फर्कन्छन् । सारंगी बजाउँदै गुल्मीका विभिन्न गाविस तथा वागलुङको ढोरपाटन, पाण्डवखानी, सिसाखानी, रिघा, पर्वतका विभिन्न गाविस तथा अर्घाखाँची र प्युठानसम्म पुगेको बताए । बाबुको प्रभाववाट सारंगी बजाउन सिकेका धनबहादुरले बाबुले बजाउँदै आएको सारंगी बजाउँछन् ।

‘बाउले बजाउँदा बजाउँदै सारंगी बजाउन सिकियो,’ उनले भने, ‘बाउले ६१ वर्षसम्म बजाएको त्यही सारंगी मैले १२ वर्षदेखि बजाउँदै आएको छु, यो देख्दा बाउको झल्को मेटिन्छ ।’ पछिल्लो समय विकास भएका सूचना प्रविधिले पेसा संकटमा पर्न थालेको उनी गुनासो गर्छन् । ‘पहिला–पहिला राजाका कुरा, पल्टनमा गएका छोराको खबर, भगवानका चरित्र सुनाइन्थ्यो,’ उनले भने, ‘अहिले एफएम रेडियो फोन हातहातै भए हाम्ले भन्दा तिनीहरूले छिटो खबर पु¥याउँछन् ।’  वडागाउँ–५, पेंगा निवासी धनबहादुरले एक्लै बाउबाजेको पेसा धान्दै आएका छन् । गाउँमा २० भन्दा बढी गन्धर्व घरपरिवार भए पनि कसैले धनबहादुरको पेसामा साथ दिएका छैनन् । गन्धर्व समुदायका युवाहरू प्रायः वैदेशिक रोजगारको सिलसिलामा बिदेसिएका छन् ।









 


भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग