विद्यार्थीहरुमाथि खेलवाड गरेको भन्दै ज्ञापन पत्र
जनार्दन घिमिरे
गुल्मी, ८ चैत । गत मंगलवार संचालन भएको एसएलसी परिक्षागत अन्तर्गत सामाजिक विषयको परीक्षामा ३५ प्रतिशत भन्दा वढी प्रश्नहरु पाठ्यक्रम भन्दा वाहिरवाट सोधेर विद्यार्थीहरुमाथि खेलवाड गरेको भन्दै सरोकारवाला संघ संस्थाहरुले त्यसको विरोध गरेका छन् । उनीहरुले सदरमुकाम तम्घासमा आज पत्रकार सम्मेलन गरि जिल्ला शिक्षा कार्यालय गुल्मीमा ज्ञापन पत्र समेत वुझाएका छन् ।
सामाजिक बिषय जिल्ला समिति गुल्मीले आज एक विज्ञप्ती जारी गरि सोधिएका उक्त प्रश्नहरु सामाजिक विषयको विशिष्टीकरण तालीका २०६५ सँग पूर्ण रुपमा मेल नखाने भन्दै उक्त प्रश्नहरु पाठ्यक्रम, पाठ्य पुस्तक, ग्रीड तथा मोडेल भन्दा वाहिरवट सोधिएको वताएका छन् । पाठ्यक्रम भित्रैवाट प्रश्नहरु वनाई परीक्षा लिनु पर्ने शिक्षा नियामावलीमा व्यवस्था हुँदा हुँदै पनि विद्यार्थीहरुलाई अन्यायमा पार्ने र उनीहरुलाई मानसिक तनाव दिनेगरि पाठ्यक्रम भन्दा वाहिरवाट प्रश्नहरु सोधेर विद्यार्थीहरुको भविष्यमाथि चरम खेलवाड गरेको उनीहरुको आरोप छ ।
उनीहरुले परीक्षा नियन्त्रण कार्यालय र शिक्षा मन्त्रालयलाई पाठ्यक्रम भन्दा वाहिरवाट सोधिएका पाँच वटा प्रश्नहरु खारेज गरि वाँकि प्रश्नहरुलाई सय प्रतिशत अंक कायम गरी मूल्यांकन गर्ने व्यवस्था मिलाउन समेत माग गरेका छन् ।
यस सम्वन्धमा जिल्ला शिक्षा कार्यालय गुल्मीका शाखा अधिकृत हरिलाल अर्यालले केही प्रश्नहरु विद्यार्थीहरुको स्तर भन्दा माथि सोधेको कारण उनीहरुलाई केही अफ्ठेरो परेको वताउँनु भयो । उहाँले प्रश्नहरु अलि घुमाउरो तरिकाले आएपनि सामाजिक विषयको करिकुलम भन्दा वाहिरवाट प्रश्नहरु नआएको उहाँको भनाई थियो ।
0 प्रतिकृयाहरु