Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कतै बिजुली छैन, कतै फालाफाल

Published on 9:34:00 PM //


रमेश लम्साल
काँडेबास (बाग्लुङ), २१ फागुन । कतै बिजुली नपाएर अँध्यारोमा बस्नु परेको छ भने कतै उत्पादित बिजुली खेर गइरहेको छ ।

काठमाडौँ उपत्यका र देशभर पर्याप्त बिजुली प्राप्त हुन नसकेर अधिकाँश जनता अँध्यारोमा बस्नुपर्ने अवस्था विद्यमान रहेको बेला बाग्लुङमा भने उत्पादित बिजुली खेर गएको हो ।

विद्युतभार कटौती के हो भन्ने कुरा थाहा नपाएका बाग्लुङ काँडेबासका दिलबहादुर बुढाथोकी स्थानीय तहमा नै जनताले आफ्नै श्रम खर्चने हो भने अँध्यारोमा बस्नु नपर्ने बताउनुहुन्छ ।

राजधानी काठमाडौँलगायत मुलुकभर विद्युत्भार कटौतीले हैरानी पारिरहेको समाचार आइरहँदा बुढाथोकीको गाउँ काँडेबासमा न त त्यो समस्या आएको छ, न त अँध्यारोमा नै बस्नु परेको छ ।

स्थानीय जनताको पहलमै गाउँमा सञ्चालनमा ल्याइएको लघु जलविद्युत् आयोजनाले ल्याइदिएको खुसीलाई व्यक्त गर्ने शब्द छैन बुढाथोकीसँग ।

उहाँ भन्नुहुन्छ, “काठमाडौँलगायत मुलुकका अन्य स्थानहरूमा विद्युत् भार कटौतीको समाचार आउँदा के भनेको होलाजस्तो लाग्छ, हाम्रो गाउँमा चौबिसै घन्टा बिजुली आउँछ ।”

अँध्यारोमा बस्नु नपरेको र लघुजलविद्युत् आयोजनाले गाउँमा भित्र्याइदिएको खुसी र अनि त्यो खुसीसँगै भित्रिएको नयाँ र अत्याधुनिक प्रविधिले बाग्लुङका सामुन्ने काठमाडौँ मात्रै होइन, सारा संसार समेत नजिक ल्याइदिएको छ ।

लघु जलविद्युत् आयोजनाले स्थानीय रूपमा लघु उद्योगहरू सञ्चालन गर्न सहज भएको छ भने विद्यालयले सहज रूपमा कम्प्युटर चलाउन पाएका छन् ।

राजधानी नजिकै भएर पनि आधुनिक शिक्षाको मुखसमेत देख्न नपाएका विद्यार्थीभन्दा यहाँका स्थानीय विद्यालयका विद्यार्थी सहज रूपमा कम्प्युटरबाट पढ्न पाएका छन् ।

लघु जलविद्युत्ले गाउँमा खुसी मात्रै ल्याएको छैन नयाँ रोजगारी समेत सिर्जना गरिदिएको छ ।

वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र, उर्जा क्षेत्र सहयोग कार्यक्रम र धवलागिरी सामुदायिक स्रोत विकास केन्द्रको संयुक्त संयोजनामा बाग्लुङ जिल्लाको उत्तर पश्चिम क्षेत्रका दर्जनौं गाउँमा लघु जलविद्युत् आयोजनाहरू अगाडि बढाइएको छ ।

स्थानीय जनताको लगनशीलता र लगानीले गाउँमा ल्याएको उज्यालोबारे स्थानीय महिला अगुवा हरिमाया बुढाथोकी भन्नुहुन्छ – “हामी अँध्यारोमा बस्नेहरूलाई लघु ऊर्जाले कहिल्यै पाउन नसकेको खुसी ल्याइदिएको छ ।”

दरमखोला लघु जलविद्युत् आयोजनाको निर्माणमा हरेक घरले रु ६ हजार लगानी र ६० दिन बराबरको श्रमदान गरेको स्थानीयवासीले यसरी सहज रूपमा विद्युत् उत्पादन होला भन्ने पनि सोचेका थिएनन् ।

स्थानीय दरमखोलामा सामान्य बाँध बाँधेर ३५ किलोवाट विद्युत् निकालेका काँडेबासका स्थानीय जनता सरकारको मुख ताक्नुभन्दा पनि आफैंले केही लगानी गरे उल्लेख्य सफलता पाउन सकिने बताउँछन् ।

विद्युत् आयोजना निर्माणमा दिनरात खट्नुभएकी बुढाथोकी दरमखोलामा मात्रै १० वटाभन्दा बढी लघु जलविद्युत् आयोजनाहरू सञ्चालनमा आइसकेको बताउनुहुन्छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले उपलब्ध गराएको सीमित अनुदानभन्दा पनि स्थानीय जनताकै लगानीले ल्याएको खुसीबारे दरमखोला लघु जलविद्युत् आयोजनाका अध्यक्ष रेशम बुढाथोकी भन्नुहुन्छ, “हामीले उत्पादन गरेको विद्युत्ले करिब ९०० घरमा उज्यालो पु¥याएको छ ।”

सानो खोलाबाट पनि बिजुली निस्कन्छ र भन्ने सोचमा रहेका स्थानीय जनतामा आएको जागरणले लघु जलविद्युत् आयोजनाहरू आफ्नै पहलमा निर्माण गर्नुपर्दछ भन्ने सोच अन्य गाउँहरूमा समेत फैलाइदिएको छ ।

काँडेबासमा मात्रै दरमखोलाबाट ३५ किलोवाट र २७ किलोवाट विद्युत् उत्पादन गरिएको छ । एउटै बाँध, एउटै कुलो र एउटै हेडमार्फत सो परिमाणमा बिजुली निकालिएको हो ।

सो आयोजनाबाट उत्पादन गरिएको विद्युत् गुल्मी जिल्लाको अर्लाङकोट गाविसको अधिकांश भूभागमा वितरण गरिएको छ ।

सो आयोजना सम्पन्न गर्न रु एक करोड पाँच लाख लागेको थियो ।

आयोजना सुरु गर्दा रु २१ लाख ऋण लागेको बताउँदै अध्यक्ष बुढाथोकीले अझै पनि रु पाँच लाख ऋण तिर्न बाँकी रहेको जानकारी दिनुभयो ।

आफूहरूलाई आयोजना सञ्चालनको अनुभव नभएको कारण लागत केही बढेको र केही सरकारी तथा गैरसरकारी निकायले सही सूचना नदिएका कारण हैरानी व्यहोर्नु परेको उहाँको गुनासो छ ।

“हामीले स्थानीय जनतालाई बिजुली बालेर खुसी मात्रै दिएका छैनौँ, केही गर्न सकिन्छ भन्ने भावनाको समेत विकास गरेका छौँ । यसबाट तँ आँट म पु¥याउँछु भन्ने हाम्रो वैदिक मान्यतासमेत साकार भएको छ” – अध्यक्ष बुढाथोकीले भन्नुभयो ।

सो आयोजनाबाट उत्पादन भएको बिजुली सबै खपत हुन सकेको छैन । दिउँसोको समयमा आधाभन्दा बढी बिजुली खेर गइरहेको छ ।

दरमखोला आयोजनाका अपरेटर बालकृष्ण सापकोटा भन्नुहुन्छ, “दिउँसोको समय उत्पादित बिजुलीको आधाभन्दा बढी खेर गएको छ, केही लघु तथा घरेलु उद्योगहरूमा मात्रै दिउँसो प्रयोग हुन्छ ।”

प्रसारण लाइन भएको भए उत्पादित बिजुली खेर फाल्नुपर्ने थिएन ।

केही लघु तथा घरेलु उद्योगहरूमा मात्रै खपत हुँदा दिउँसो पूर्ण क्षमतामा कहिल्यै चलाउनु नपरेको अपरेटर सापकोटाको भनाइ छ ।

स्थानीय रणबहादुर परियार लघु जलविद्युत्ले आफ्नो टेलरिङ पेसामा समेत अत्याधुनिक प्रविधि भित्र्याउन सहज भएको बताउनुहुन्छ ।

परियारले भन्नुभयो – “हामी आफैंले दुःख गरेर बनाएको आयोजनाले खुसी मात्रै दिएको छैन, आम्दानी पनि बढाइदिएको छ । पहिले कोइला बालेर आइरन चलाउनुपर्दथ्यो, अहिले अत्याधुनिक आइरन चलाउन पाइएको छ ।”

स्थानीय आयोजनाबाट उत्पादित बिजुलीको प्रतियुनिट रु सात तोकिएको छ । उद्योगहरूका लागि प्रतियुनिट रु आठ तोकिएको छ । विसं २०६७ बाट निर्माण सुरु भएको सो आयोजनाबाट प्राप्त भएको रकम स्थानीय रुपमै लगानीसमेत गरिएको आयोजनाका अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो ।

आयोजनाको मर्मतसम्भार गर्न उपभोक्ता समितिले आवश्यक काम कारबाही गर्ने गरेको छ । प्रसारण लाइन बनिदिए उत्पादित बिजुली अन्य जिल्लामा पनि वितरण गर्न सकिने भन्दै स्थानीयवासीले सरकारसँग प्रसारण लाइन निर्माण गरिदिन माग गरेका छन् ।

उपभोक्ता समितिका अध्यक्ष विश्वनाथ सापकोटाले भन्नुभयो, “उत्पादित बिजुली खेर नफाल्न सरकारले प्रसारण लाइन बनाउन पहल गर्नुपर्दछ, यसो भयो भने हामीले उत्पादन गरेको बिजुलीले अरू गाउँमा पनि उज्यालो ल्याउन सक्छौं ।”

लघुऊर्जाले फर्निचर उद्योग, कम्प्युटर इस्टिच्युट, कुखुरापालन, विद्यालयमा इ–लाइबे्ररी सञ्चालनमा ल्याइएको छ भने समुदायले आफ्नो सूचना प्रवाहका लागि सामुदायिक रेडियोसमेत सञ्चालनमा ल्याएको छ । लघु जलविद्युत् आयोजनाले ग्रामीण बस्तीमा ल्याएको खुसी र उत्साहलाई अरू जिल्लामा पनि फैलाउनुपर्ने आवश्यकता देखिएको छ ।  रासस

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग