गुल्मीमा खेत जोत्ने हाते ट्याक्टर किन्न जिविसको अनुदान, कृषकहरु आकर्षित
Published on
12:57:00 AM //
पि.एम.मगर
गुल्मी, चैत्र २७ – गुल्मी जिल्लाको दश वर्षे कृषि योजना अन्तरगत जिल्ला विकास समितिले हाते टयाक्टर खरिद गर्न चाहने कृषकहरुलाई ५० प्रतिशत अनुदान दिने भएपछि कृषकहरु आकर्षित भएका रहेछन् ।
दश वर्षे कृषि योजना सफल पार्न कृषक समुहलाई पनि जिल्ला बिकास समितिले ५० प्रतिशत अनुदान दिने निर्णय गरिएको स्थानिय विकास अधिकारी हरीप्रसाद ज्ञवालीले बताउनुभयो । विन्दवासीनी कृषक समुह अर्खले ७ ले जिल्ला विकास समितिवाट यस्तो अनुदान पाईसकेको छ ।
पहिलो पटक हाते टयाक्टरको जोताई नियाल्दै त्यहाँका कृषकहरु । तस्बिर: प्रेम सुनार |
कफी बेसार र अदुवा अनि ब्यबसायीक तरकारी उत्पादन, भण्डारण र वजार ब्यबस्थापनमा समेत जिल्ला विकास समिति लागी परेको छ । स्थानिय विकास अधिकारी ज्ञवालीले गौडाकोटको उदाहरण दिदै त्यस स्थानमा पानी नभएको रुखो डाँडामा पनि प्लाष्टिक पोखरी निर्माण गरेर व्यवसायिक तरकारी खेती गरिरहेको र यसवाट पनि सवैले पाठ सिक्नुपर्ने वताउनुभयो । त्यतिमात्र नभई गौडाकोटका कृषकहरुले झण्डै तिन सय मिटर तल रहेको पानी लिफ्टीङ्ग सिस्टम प्रविधिबाट माथि डाँडामा खसाली ब्यबसायीक तरकारी खेतीका लागि नमुना कृषक बनेको उहाँले वताउनुभयो ।
त्यस्तै सदरमुकाम नजिकैका अर्खलेका कृषकहरु पनि वर्षौँ अघिदेखि दुध, तरकारी उत्पादन गरी सदरमुकाम तम्घासमा दैनिक विक्री गर्दै आएको र त्यही पेशाबाट छोराछोरीलाई पढाई डाक्टर ईन्जीनियर र प्राध्यापकसम्म बनाउन सफल भएको उहाँले उदाहरण पेश गर्नुभयो । हर बखत खेतबारीमा देखिने अर्खले ७ का कृषक पछिल्लो चरण गौचरनको समस्याले गोरु पाल्न मुस्कील परेको बताउने कृषकहरु हाते ट्याक्टर प्राप्त गरेपछि निक्कै हर्षित वनेका छन् ।
विन्दवासानी कृषक समुह अर्खले ७ का अध्यक्ष वेदप्रसाद भण्डारीलाई साईरन हाते टयाक्टरको चाँवी हस्तान्तरण गर्दै गुल्मीका स्थानिय विकास अधिकारी हरीप्रसाद ज्ञवाली । तस्बिर: प्रेम सुनार |