सिफारिस नगर्दा कर्मचारीलाई मुक्का
Published on
6:34:00 PM //
घनश्याम गौतम
गुल्मी, वैशाख २० । कांग्रेस महासमिति सदस्यले दुर्गममा सञ्चालित एकीकृत घुम्ती शिविरमा नागरिकताका लागि सिफारिस नगरिदिएको भन्दै कर्मचारीलाई मुक्का हानेका छन् ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgk1497RjZXsY9HZKp7TiXhzTiSp5iJPPpLHuWNo6oPydSZY528I2X2VW-VLPAkW_HIJW8J4Ju6S5RW03_SMPjloCemEa79G7N76Gtt00C52BV01bZ4BowVZzwHlQtAjYjXPeQNlAUgX9s/s1600/nagarikta-300x226.jpg)
युवतीको सिफारिस गर्ने क्रममा ११ कक्षामा पढ्दै गरेको बताए पनि शैक्षिक योग्यताको कुनै प्रमाणपत्र नभएपछि शैक्षिक योग्यताको प्रमाणपत्र आफूले माग गरेको तर मगरले प्रमाणपत्र नभए पनि नागरिकताको फाराममा उल्लेख भएअनुसारकै जन्ममिति राखेर सिफारिस गर्न दबाब दिएका थिए । 'प्रमाणपत्रबिना सिफारिस गर्न नसक्ने बताएपछि मगरले मलाई टाउकोमा हाने,' सचिव रानाले भने, 'अझ मलाई टाउकोमा हान्ने क्रममा बचाउन खोज्ने कृषि सेवा केन्द्रका प्रमुख चपाईलाई मुखमा हानेका थिए ।'
कृषि सेवा केन्द्र प्रमुख चपाईले पनि खड्गकोट गाविस सचिव नयाँ आएकाले आफूले उनलाई सहयोग गर्न खोजेको र दुई जनाको भनाभन हुन थालेपछि यसो गर्नु हुँदैन भन्दै बेद मगरलाई सम्झाउन खोज्दा आफूले समेत मुक्का खाएको बताए । चपाई खड्गकोट गाविसका पूर्वगाविस सचिव हुन् । मुक्का प्रहारबाट देब्रे आँखामुनि चोट लागेको र नाकको नाथ्रो फुटेको चपाईले बताए ।
पूर्तिघाट, अर्वेनी, फोक्सिङ, खड्गकोट, जयखानी, भुर्तङ, भार्से लगायतका गाविसका जनतालाई सेवा दिन पूर्तिघाट बजारमा प्रशासनले एकीकृत घुम्ती शिविर सञ्चालन गरेको हो । कुटपिटको विरोध गर्दै त्यस क्षेत्रका गाविस सचिवहरूले काम रोकेपछि प्रशासन, प्रहरी र स्थानीयको पहलमा बेद मगरलाई सार्वजनिक रूपमा माफी मगाएर काम सुरु गरेका छन् ।
घुम्ती शिविरमै रहेका सहायक प्रमुख जिल्ला अधिकारी विष्णु घर्तीले कुटपिटको विरोधमा गाविस सचिवहरूले काम रोकेपछि आपसी समझदारीमा छलफल गरेर काम अघि बढाएको बताए । 'सामान्य घटना भएको हो,' घर्तीले भने, 'आपसी समझदारीमै समस्याको समाधान गरेर काम अघि बढाएका छौं ।' महासमिति सदस्य मगरले भने हल्ला भएजस्तो मुक्का हानेको नभई भनाभन हुँदा झुक्किएर नाथ्रो फुटेको बताए । 'मैले मुक्का हानेको होइन,' मगरले भने, 'घटना सामान्य हो, हल्लामात्र बढी भएको हो ।