बैदेशिक रोजगारिले गाउँ रित्तै, बुढाबुढीलाई समस्या
विष्णु पौडेल
गुल्मी, १० भदौ । उमेरले ५८ वर्ष नाघेका मरभुङ– १ नमताका केशर गिरीलाई अहिले पनि जवानी उमेरमा गर्नुपर्ने सबै काम गर्नुपर्छ । घरायसी कामदेखि घर व्यवहार सबै केशरको टाउकामा छ । सेतै फुलेको कपाल र चाउरी परेको अनुहार ओछ्यानमा बसेर छोराबुहारीलाई अह्राइसिकाइ गर्ने उमेर भए पनि दैनिक परिश्रम नगरी चुल्हो नबल्ने अवस्थामा छन् । १२ वर्षअगाडि विदेशिएका उनका जेठा छोरा बाबुराम अहिलेसम्म पनि बेखबर छन् । घरको आर्थिक अवस्था कमजोर भएपछि गिरीको माइला छोरा कमल पनि रोजगारीका सिलसिलामा गत १० महिनादेखि मलेसियामा छन् ।
गिरीको साथमा भएका १२ वर्षीया कान्छो छोरा गंगाराम पनि जन्मजात अपांग छन् । छोराहरू परदेश गएपछि खेतबारी र मेलापातको सबै काम तथा आर्थिक व्यवहार पनि सबै केशरमाथि आएको छ । ‘एउटा छोरो १२ वर्षदेखि बेखबर छ, कान्छो छोरो जन्मजात अपांग छ । सग्लो भन्ने माइलो छोरो पनि धन कमाउन भन्दै परदेसियो,’ केशर भन्छन्, ‘खेतमा झारले धान खायो, बारीमा मकै कुहिएका छन् । गाउँका सबै युवा परदेश गएपछि खेताला पाइन्नन् । बुढेसकालमा छोराले सुख देलान् भनेको सबै आफ्नै टाउकामा खनाएर गए ।’
वैदेशिक रोजगारीका सिलसिलामा छोराहरू विदेशिएको पीडा हो केशरको । उनी भन्छन्, ‘उमेरावस्थाले नेटो काट्यो हिँडुन्जेल हो, ओछ्यान परियो भने तातोपानी तताएर दिने पनि कोही छैनन् । कमाउन जान्छु भनेको माइलो छोराले पनि कमाइ नै भएन वा दुःख पाएँ भन्दै फोनमा रुन्छ ।’ जीवनका ६० ओटा खुट्किला काटेकी सोही गाउँकै लीलाकुमारी घर्तीको अवस्था पनि केशरको भन्दा फरक छैन । बुढेसकालको सहारा भनेको छोरा केशव पनि बिहानबेलुकाको गुजारा चलाउन मुस्किल भएपछि पाँच महिनादेखि साउदीमा छन् । उनी भन्छिन्, ‘श्रीमान् वृद्ध हुनुहुन्छ, कमाउन गएको छोराले पनि कमाउने हो कि होइन भन्ने थाहा छैन । अहिलेसम्म एक रुपैयाँ पनि पठाएको छैन ।’ हाडछाला बेरिएको शरीर र चाउरी परेको अनुहार भए पनि हात पाखुरो नचले उनको परिवार भोकै बस्नुुपर्छ । उनी भन्छिन्, ‘दिनभरी पाखुरी बजारे साँझ खाने हो, वृद्ध श्रीमान् र काखमा सानी छोरी त्यसैमाथि घरव्यवहार । बिरामी भइयो भने पनि उपचार गराउने पैसा छैन ओछ्यानमै कुहिएर मर्ने हो ।’ यस्तै, बडागाउँका दुर्गाबहादुर थापालाई पनि चाडपर्व आउँदा साह्रै मन दुख्छ । बुढेसकालको सहारा एक मात्र छोरा आनन्द रोजगारीको सिलसिलामा अष्टे«लिया गएको अहिले ४ वर्ष बित्यो ।
सबैका छोराछोरी घरमा आउँदा दुर्गालाई एक्लो महसुस हुन्छ । ‘अघिपछि त सधंै एक्लै बस्नु नै पर्छ, सबैका छोराछोरी चाडपर्वमा घर आउँदा मेरो छोरो नआउँदा रोएरै चाडपर्व जान्छन्,’ उनी भन्छन्, ‘सरकारले स्वदेशमै स्वरोजगार सिर्जना गर्न सके शिक्षित युवाहरू पनि बिदेसिनु पर्ने थिएन ।’ गरिब र बेरोजगारीबाट मुक्ति पाउन दैनिक १६ सयभन्दा बढी युवा बैदेशिक रोजगारीका लागि बिदेसिने गरेका छन् । विदेश जाने सूचीमा गुल्मीका युवाहरू पनि थपिँदै छन् । युवाहरू कोही कामका लागि विदेश र कोही पढ्नका लागि बिदेसिएपछि गुल्मीका अधिकांश घरमा रहेका वृद्धवृद्धा समस्यामा परेका छन् । इस्मादोहोली–५ का भीमकान्त अर्याल पनि उमेरले ६५ वर्ष पुगे ।
तर, छोरा बिदेसिँदाको पीडाले उनी पनि छट्पटाएका छन् । उनी भन्छन, ‘दुईभाइ छोरा छुट्टिए, मलाई पाल्छु भनेको कान्छो छोरो पनि जापानमा छ, गाउँमा बसेपछि डियाँबाच्छा (गाईवस्तु) र खेती किसानी पनि गर्नैप¥यो ।’ बिरामी हुँदा र मर्दा पर्दा पनि मलामी छैनन्, गाउँमा बूढाबूढीलाई आपत छ उनले भने । पिपुल फोरम नेपाल गुल्मीको तथ्यांकअनुसार करिब ४८ हजार गुल्मीका युवाहरू रोजगारीका सिलसिलामा तेस्रो मुलुक गएका छन् । युवाहरू बिदेसिँदा गाउँमा काम गर्ने जनशक्ति छैन भने गाउँमा मर्दा घाटसम्म लैजान र बिरामी हुँदा बोकेर अस्पतालसम्म लैजान पनि निकै समस्या भएको छ । वैदेशिक रोजगारीले गर्दा पारिवारिक संरचना पनि बिग्रिएको छ ।
अधिकांश युवाहरू विदेशमा रहँदा घरमा भएका श्रीमतीले न श्रीमान्ले पठाएको पैसाको ठेगान लगाएका छन् न घरमा आउँदा श्रीमती नै छन् । प्रहरी निरीक्षक निशान्त श्रीवास्तव भन्छन्, ‘प्रहरीमा आउने उजुरीमध्ये आधाजसो हिस्सा वैदेशिक रोजगारीले निम्त्याएका उजुरी छन् । घर आउँदा श्रीमती नभएका, श्रीमती अर्कैसँग लसपस गरेका उजुरी हामीकहाँ धेरै पर्छन् ।’
0 प्रतिकृयाहरु