‘धुर्मुस’ बंगुर पालनतिर
Published on
2:08:00 AM //
‘मेरी बास्सै’ का चर्चित कलाकार धुर्मुस अर्थात् सीताराम कट्टेल शनिबार ललितपुरको ठेचोमा बंगुरको हूलमा भेट्टिए। लाग्न सक्छ, उनी सुटिङ गर्न कतै बंगुरको खोरमा पुगे होलान्। तर, होइन रहेछ। यहाँ उनी कलाकार होइन, बंगुरपालक रहेछन्।
ठेचो गाविसमा उनको ठूलो फार्म हाउस छ। साडुदाइ मदन तिमलसिनाको सहकार्यमा विपन्न गरिब परिवारलाई रोजगारी उपलब्ध गराउने उद्देश्यले ‘नेपाल एग्रिक ल्चर फार्म हाउस’ स्थापना गरेर सोही संस्थामार्फत उनले बंगुरपालन गर्न सुरु गरेका हुन्। दुई वर्षअघि ११ लाख रुपैयाँको लगानीमा सुरु गरिएको बंगुरपालनको कुल पुँजी अहिले ३० लाख पुगेको छ।
वार्षिक डेढ लाख रुपैयाँमा सात रोपनी जग्गा भाडामा लिएर ३० वटा खोरमा अहिले योर्कसायर, लैन्डरेस र ड्युरोक जातका २३ वटा माउ, पाठापाठी ७० र भाले (वीर) दुईवटा बंगुर उनको फार्म हाउसमा छ।
‘मेहनत गरेको दुई वर्षमै करिब तेब्बर परिमाणमा पुँजी बढेको छ’, मदन भन्छन्, ‘हामी पूर्ण रूपमा स्वस्थ्यकर बंगुरको पाठापाठी उत्पादन गर्दै आएका छौं।’ नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बाट बंगुरको सातवटा पाठापाठी ल्याएर त्यसैबाट अहिले ठूलो संख्यामा पाठापाठी उत्पादन गरिएको छ। एउटा माउ बंगुरले दुई वर्षमा पाँचपटक बच्चा जन्माउँछ। एक बेतमा १८ वटासम्म दिन्छ। एक वर्षमा ६ सयको संख्यामा माउहरूले बच्चा जन्माउँदै आएको मदनले जानकारी दिए।
धुर्मुसका अनुसार उक्त फार्म हाउसलाई नेपालको नमुना फार्म हाउस बनाउने लक्ष्य राखिएको छ। सातामा दुई दिन बंगुरहरू सँगै रमाउने उनको फार्ममा उत्पादन गरिएका पाठापाठी मासु र पाल्न दुवै काममा प्रयोग हुँदै आएको छ। एउटा पाठापाठीलाई तीन हजारदेखि ३५ सयसम्म बिक्री हुँदै आएको जानकारी गराउँदै धुर्मुसले भने, ‘धादिङ, सुर्खेत, नुवाकोट, काठमाडौं, चितवनसहित नेपालको ३५ जिल्लाका बंगुरपालक तथा मासु व्यवसायीहरूले पाठापाठी लग्ने गरेका छन्।’
फार्म हाउसमा ५० किलोसम्मका वयस्क माउ र भाले बंगुर छन्। धुर्मुस भन्छन्, ‘हामी नाफामुखी होइन, समाजसेवा गर्ने उद्देश्यले पनि बंगुरपालनलाई अघि बढाएका छौं। विभिन्न स्थानमा बंगुरपालनसम्बन्धी जनचेतना फैलाउने काममा पनि सहभागी हुँदै आएको छु।’ फार्म हाउसमा अहिले प्रत्यक्ष रूपमा पाँचजनाले रोजगारी पाएका छन्।
बंगुरपालनका लागि सबैभन्दा ठूलो उनीहरूको खान्की समस्या रहेको अनुभव सँगालेका धुर्मुसका अनुसार बंगुरको छिनछिनमै खाइरहने बानीले गर्दा कुल खर्चमध्ये करिब ८० प्रतिशत रकम उनीहरूको खान्कीकै लागि खर्च हुन्छ। किसानहरूका लागि आफू प्रेरणाका स्रोत भए पनि राज्यको तर्फबाट कुनै पनि सहयोग उपलब्ध नभएको प्रति उनी खिन्न बनेका छन। ‘वर्षमान पुन अर्थमन्त्री हुँदा धेरै पटक भेटियो, तर आश्वासनमात्र पाएँ, कुनै सहयोग पाइएन’, उनले भने।
‘राज्यसँग युवा आकर्षित नीति छैन। जसले गर्दा दिनहुँ दर्जनौंको संख्यामा बिदेसिन बाध्य छन्। राज्यको हेर्ने दृष्टिकोण सही भइदियो भने, कोही विदेश जानुपर्दैन’, कट्टेल भन्छन्। -अन्नपूर्ण पोस्ट दैनिकबाट
0 प्रतिकृयाहरु