१७ वर्ष अघि कालिगण्डकीमा फ्याँकीएकी महिला र ओझेलका खवर
Published on
12:18:00 AM //
प्रेम सुनार
गुल्मी ३० पुस । श्रोताको अपार मायाका साथ ओझेलका खवरले १५३ औं श्रंखला पार गर्दा मलाई झट्ट कालिगण्डकीमा १७ वर्ष अघि एक प्रेमी भनाउँदा े शिक्षकबाट फ्याँकिएकी महिलाको घटना याद आयो । त्यही घटना देखि नै ओझेलका खवर साना भाई वहिनी देखि सेतै फुलेका बुवा आमा सम्मको प्रिय कार्यक्रम बनेको हो ।
अतः म पुनः त्यस घटनाको स्मरण गराउन चाहन्छु । जसका श्रीमनको डेढ वर्ष अघि सडक दुर्घटनामा ज्यान गएको थियो । उनको चिनो स्वरुप एउटा सन्तान थियो काँखमा । श्रीमानको मृत्यु पश्चात उनैको मुख हेरे बसेकी बेसाहरा गंगालाई सहारा दिन्छु भन्दै आए गाउँकै शिक्षक भेषबहादुर संजाली । रुझेका परेलीहरु पुछे भेषबहादुरले र गंगाको ओंठमा विर्सेको हाँसो फर्काई दिए ।
दुई वर्ष अघि ओझेलको खवरले त्यो घटना उठाउँदा सारा रोएका थिए । त्यस्ता शाहसी महिला पनि हुँदा रै’छन र जस्तो सुकै विपद पनि सहदा रै’छन महिलाले भन्ने कुरा सारा श्रोताको प्रतिकृया आएको थियो । ति शाहसी महिला थिईन् लिम्घा ८ एक्सीङ्ग गाउकी गंगा सिंजाली । जसलाई श्रीमानको मृत्यु पश्चात माया दिएका प्रेमी भेषबहादुर सिंजालीले कालिगाण्डकीमा फालेर भागेका थिए ।
भेषबहादुर एक्सीङ्ग माध्यामिक विद्यालय लिम्घाका प्रतिष्ठीत शिक्षक थिए । शिक्षण पेशाका अलवा कहालाएका समाज सेवी पनि थिए । त्यस्ता ब्याक्तिप्रति कसले पो बिश्वास नगर्न सक्थे र ? एकल महिला गंगाले पनि गरिन र फसीन् उनिसंग । मृतक श्रीमानकी दुईतिन वर्षकी छोरी थिईन् । श्रीमानको विरवासमा सडक दुर्घटनामा परी मृत्यु भएको केहि महिना पछि भेषबहादुर गंगाको एकलोपनको फाईदा उठाउन थाले । प्रकृतिको देन, नियन्त्रण गर्न सक्ने बेला सम्म न हो ? आखिर रातको समयमा विपरित लिंगको मान्छेले माया दिन थालेपछि उनले आफुलाई कावुमा राख्न सकिनन् । अन्ततः गर्भ रह्यो ।
पछि थाह पाएपछि उनलाई भेषबहादुरले पाल्पा घुम्न जाउ भनेर लगे । पाल्पामा लगेपछि गर्भ पतन गराउने कुरा भयो । गंगाले मानिन् । त्यस पछि बुटवलमा रहेका भेषबहादुरका दाजुु संग कुराकानी भयो । त्यसो भए हिंड जाउँ घर बिहे गरेर बसौंला भनेर ल्याए भेषबहादुरले । रिडी आउँदा झुपक्क साँझ पर्न लागेको थियो । दुबै जना मिठा मिठा गफ गर्दै र भावी जिवनको सपना बुन्दै आए ।
पर साँघुरेको भिरको सडकमा बसेर दुबै जनाले झोलामा रहेको स्याउ झिकेर खान थाले । आधा जस्तो् स्याउ खाँदै थिई गंगाले । भेषबहादुर जुरुक्क उठे र गंगालाई ढाडमा बोकेकी छोरी सहित कालिगण्डकीमा फालेर भागे । साँघुरे भिर त्यति बेला देखि चर्चामा आएको थियो जुन बेला कालिगण्डकीमा फालिएकी गंगा पौडेर बाँच्न सफल भएकी थिईन् ।
यो समाचार–संस्मण ओझेलका खवरमा गंगाले गरेको कुराकानीमा आधारित छ । ‘ स्याउ खाँदै थिएँ, किन उठे उनि थाह भएन गंगाले भनिन् –‘के गर्न खोजेको भन्न नपाउँदै एक्कासी नानी सितै फाले, तल झर्दा स्याउँ निल्न खोज्दै थिएँ । ’ कालिगण्डकीको माछाले औला टोक्यो ’–गंगाले त्यो हृदय विदारक घटना सुनाउँदै भनिन्–‘मलाई त्यो औंलाको दुखाई र मेरा ज्यानको भन्दा पनि कन्नामा रहेकी छोरी कसरी बचाउ भन्ने नै भयो । ’
उनि सुनाउदै गईन्–‘ रातको समय सब चकमन्न सुतेका थिए । म पौडीदै तिरमा जान खोज्छु फेरी बगाउदै बगाउँदै तल पुग्छु , उता कन्नामा बोकेकी छोरी निसास्सीदै छ । मेरो केहि सिप लागेन छोरीको अन्तिम स्वर अम्मा..... अम्मा....भन्दै उनलाई बोकेको कपडा खुस्कीयो । उसलाई बागयो म खोज्दै खोज्दै तल सम्म पुगे भेटाउन सकिन र खोलो पार गरी वगरमा आएर पल्टे । उनी सानै देखि पौड खेल्न सिकेकी थिईन बढिघाट खा्लामा र छोरी गुमाए पनि आफुलाई बचाउन सकेकी हुन् ।
ओझेलका खवरमा यो घटना उठाउँदा निकै जोखिम मोल्नु परेको थियो । मलाई सम्झीदा अहिले पो डर लाग्छ । रातको समयमा अस्लेवादेखि हिंडेर लिम्घा पुग्दा कसका घरमा जाने ? कहाँ सुत्ने वस्ने ? कहिल्लै नगएको ठाउँ , बर्खाको वेला सिमसिमी पानी पनि परेको थियो । म एक्लै थिएँ । धन्न तम्घासमा चिनेको एक जना साथीलाई भेटाएँ । उहाँले जाउ बस्न नभने पनि मैले नै वास मागे । राती त्यस घटना उठाउन आएको हुँ भने पछि हजुर गई हाल्नुस भन्न थाले । किन भनेर सोध्धा उनले भने अहिले सम्म गापचुप भएको घटना तपाईले फयल गर्दिनु भो भने हाम्लाई यहाँ वस्न दिन्नन् । मेरो पालो लाईट किने र अलिपर एक कटेरोमा गएर झिसमिसे उज्यालो बनाएँ ।
उनका घर सम्म पुगेर त्यो घटनाको नालेवेली खोज्न भुमिगत शैली नअपनाई नहुने थियो । राती उनका घरमा जाउ कसैले नराम्रो सोचेर घेर्लान भन्ने डर । विहान जाउ अरुले देख्लान भन्ने डर । त्यो घटना गाउमै दवाएर राख्नका लागि कुनै पनि पत्रकार छिर्न नदिने र उनलाई पनि बोल्न नदिने गरिएको जानकारी समाचार श्रोतले दिए अनुसार म झिसमिसेमा पुगेको थिएँ । आधा घण्टा भित्रमा मिशन पुरा भयो । उनले सवै कुरा बोलिन् । छोरी र नयाँ श्रीमान पनि बोले । केहि बेर पछि सुरु भयो चियो चर्चो । उनका घरमा मान्छेहरु आउदै थिए । अव चाल गत्तिलो छैन भनेर म हिंडे ।
त्यसै हप्ता ओझेलका खवरमा प्रशारण भए पछि सारा गुल्मेली चकित भए । त्यहाँ देखि नै ओझेलका खवर हिट भएको हो । उनले भनेकी थिईन त्यो छोरी बचाउन सकेको भए मलाई उनको चिने हुन्थ्यो तर सकिन । संयोग भएकी छोरी छिन्ने बनाए भेषबहादुरले तर उनले फाल्ने भनेको गर्भबाट त्यसको ६ महिना पछि गंगाले छोरी जन्माईन । उनै छोरी अहिले १७ वर्षकी छन् । ठ्याक्कै भेषबहादुरलाई निलेकी छ भन्छीन् गंगा । तर भेषबहादुर आज सम्म कहाँ छन् थाह छैन् ।
जिल्ला अदालतबाट गंगा कै पक्षमा फैसला भयो । उनी एउटी एकल महिला तम्घास आउने र जाने मै थकित थिईन् । फेरी उनका परिवार पैसावाला पुनरावेदन अदालतमा पुगे । त्यहाँबाट पनि भेषबहादुर कानुनी रुपमा उम्कीन सकेनन । अहिले सम्म उनि भेषबहादुर जिल्ला प्रहरी कार्यालय गुल्मीको फरार अभियुक्तको लिस्टमा छन् तर प्रहरीले खोजतलासमा चासो दिएन् । दुई वर्ष अघि ओझेलका खवरमा तत्कालिन प्रहरी प्रमुखले हामी पक्राउ गर्दछौं भनेका थिए तर अहिले सम्म उनको फाईल सम्म पल्टाईएको छैन् ।
जिल्लामा निकै महिला अधिकारका कुरा हुन्छन् । विभिन्न संघ संस्थाहरु पनि छन् । तर एउटी एकल महिलाको सन्तानको ज्यन लिने गरी कालिगण्डकीमा फालेर फरार भेषबहादुरलाई पक्राउ गर्नका लागि यहाँका अधिकारकर्मीहरुले दवाव दिन सकेनन् । बाह्र पन्ध्र वर्ष अघिका अपराधी प्रहरीले पक्रेको समाचार पनि आउछ तर किन पक्राउ पर्न सक्दैनन त भेषबहादुर ? यस प्रश्नका पछाडी राजनैतिक संरक्षण र परिवारको चलाखी रहेको गंगाको ठम्याई छ ।
गंगाकी छोरी अहिले त्यसै बाबुले पढाउने विद्यालयमा पढ्दै छन् । धेरै पढेर ठुली मान्छे बन्छु भन्ने उनि आमाको घटना के हो ? केहि पनि थाह छैन भन्छीन् । गंगालाई ति शिक्षकले माया दिने नाममा ज्यानै लिने गरी कालिगण्डकीमा फ्याँके पनि उनलाई गाउँ कै एक अनपढले साथ दिए । कालिगण्डकीमा बगेर मरी र खिस्सै खत्तम भयो भनेर ढुक्क भएका ति पापी शिक्षक भेषबहादुरलाई चकित पारेकी गंगालाई अहिले तिनै गाउका अनपढ र गरिवले सच्चा माया,सच्चा श्रीमानको साथ दिएकोमा गंगा खुशी छन् ।
तर त्यो छोरीको ज्यान लिने र आफ्नो पनि झण्डै कसो ज्यान लिएको शिक्षक भेषबहादुर पक्राउ नपरेकोमा उनलाई दुख लाग्छ र त्यही कालिगण्डकीमा पौडीदाको झझल्कोले उनलाई बेला बेलामा झयास्ङ्ग, झस्याङ्ग बनाउछ । प्रहरी निरक्षक राजेन्द्रप्रसाद श्रेष्ठ भन्छन्–‘भेषबहादुर कहाँ छन् भन्ने कुरा यसो पत्तो दिनुस र पक्राउ गर्ने तिर लागौंला ।’ हामीले कसरी पत्तो लगाउने ? प्रहरी आफैले खोज्न चाहे उनलाई खोज्न सक्छ । उनि यसै देश भित्र शिक्षक पेशालाई नै निरन्तरता दिएर बसेको गंगाको आंसका छ । ‘परार सम्म पुर्वतिर छ भन्ने सुन्थे क्यारे’–‘ गंगाले भनिन –‘अहिले कहाँ छ थाह छैन् । ’
साँघुरेको भिर तल किनारमा गंगा रोएको सुनेपछि सानो हाटबजार रहेका साँघुरेका बासीन्दा चकित परेका थिए । ‘ एउटी महिला, त्यस माथी रातको समय र पुस माघको त्यो चिसो पानीमा कसरी ज्यान बचाउन सकेकी होलीन भनेर चकित परेका थियौं’–स्थानिय श्रेष्ठ थरकी महिलाले भनिन त्यो आईमाई त बहादुरनि नै हो । ’वास्तवमा उनि शाहसी महिलाका रुपमा जिल्लाबाट सम्मानित हुने महिला पनि हुन् । तर उनि गरिव छन् , अनपढ छन् र राजनैतिक पहुँच छैन् । त्यस्ता महिलालाई कुन चाँही अधिकारकर्मीको आँखा पर्ने ?
सायद उनि तम्घास सेरोफेरोकी हुन्थीन र उनका मान्छे ठाउमा हुन्थे भने यहाँका पत्रकारहरुले पनि सिंगै पेज भर्ने गरी उनको अन्तरवार्त छाप्थे होला वा कथा ब्याथा लेख्थे होला भन्छन त्यस घटनालाई सुरु देखि नै बुझेका अस्लेवाका समाज सेवी शेरबहादुर चौहान । ‘जे होस तपाईले शाहस गरेरै उठाई दिनु भयो त्यो डर लाग्दो घटना’–चौहानले भने–‘ओझेलका खवर त्यस बेला देखि नछुटाई सुन्ने गरेको छु ।’ त्यस्ता भेषबहादुर जस्ता हिंजोका थुप्रै शिक्षक, कथित समाजका प्रतिष्ठीत ब्याक्तिहरुबाट यौन शोषणमा परेर दवाईका घटनाहरु धेरै छन् यस जिल्लामा ।
तिनै घटना एक पछि अर्को हुँदै उठाउन थालियो । विशेषतः महिला श्रोताले त ताली नै हानेर ओझेलका खवर सुन्दै आउनु भयो । महिलाहरुका विसंगति पनि उठाईयो । त्यसबाट केहि सचेतना मिलेको होला भन्ने अपेक्षा पनि गरेको छु । यि यस्ता यौन हिंसा, अन्य दवाउनै चाहेका विषयहरु उठाउने हाम्रो प्रयास नरोकि पछि त्यस्ता केहि मान्छेले ओझेलका खवर बन्द गराउन ठुलो कसरत गरे तर श्रोताको अपार मायाले बन्द हुन सकेन , अझै कोशिस भने गरी नै रहेका छन् । म के मात्रै मेरा प्रिय श्रोतालाई निवेदन गर्न चाहन्छु भने मेरो सास रहे सम्म यहाँ वा उहाँ, वा कयरो मुनीबाट पनि ओझेलका खवर सुनाउने छु ।
केहि गर्छु भन्ने मान्छेको खुट्टा अन्य क्षेत्रकोले तान्दैनन् भन्ने कुरा बुझी दिनु होला र यसरी नै निरन्तर माया दिई नै रहनु होला, अनि मैले कहाँनिर गल्ती गरे त्यसमा पनि मलाई सजग गराई दिनु होला । तपाईहरुको सुझावले नै ओझेलका खवरलाई अझ राम्रो बनाउन सक्छौं भन्ने लागेको छ । अनि यो पनि जानकारी गराउ कि अव ओझेलका खवरमा ठुलो जमात एक युनिटका रुपमा रहेर काम गरिदै छ । अव यो कार्यक्रम प्रेम सुनारले मात्र सञ्चालन गरेको हुने छैन । अन्यायका विरुद्ध लड्ने एउटा ठुलो टिमले यो वा त्यो रेडियोबाट सञ्चालन गर्ने छ । उहाँहरुको नाम पछि सर्वाजानिक गरिने छ वा गोप्य पनि राख्न सकिने छ ।
यस टिमले पहिलो कुरा आर्थिक अभावका कारण उपचार नपाएर जिवनको दुहाई मागी रहेका र अन्य कारणणले असहाय बनेकालाई प्राथमिकता दिने छ त्यस पछि उसका प्रधान विषयहरुलाई । ओझेलका खवर युनिटका तर्फबाट म फेरी पनि कृतज्ञता प्रकट गर्दछु कि तपाईहरुले ओझेलका खवरलाई दिएको माया प्रति । म कामना गर्दछु त्यो मायाको सम्मान र सम्वोधन गर्न सँकु, र हाम्रा साथीहरुले साथ दिउन , वस...............
0 प्रतिकृयाहरु