आँटे मात्र तोड्न सकिन्छ कुसंस्कार
Published on
12:27:00 PM //
-गगनशिला खड्का
सदीयौंदेखि पितृसत्तात्मक सोचले ग्रसित समाजमा महिलालाई साँघुरो घेराभित्र राख्ने संस्कार अझै हटेको छैन। त्यस्ता केही गलत संस्कारका कारण स्वतन्त्रतापूर्वक जीवनयापन गर्न पाउने सर्वसाधारणको अधिकारलाई महिलाले प्रयोग गर्न पाइरहेका छैनन्। सुसंस्कृत समाज निर्माणका लागि राम्रा कुराको सिको गर्दै जानु र नराम्रा कुरा पन्छाउँदै जान आवश्यक छ। पुर्खाले बसाएका कतिपय नियम यस्ता आर्कषक छन्, जुन अहिलेको परिवेशमा कार्यान्वयन योग्य छन्।
लैंगिक विभेदीकरणका आधारमा बनाइएका कुसंस्कार स्वीकार गर्न सकिन्न। पुरातनवादी सोचले ग्रस्त समाज परिवर्तन जरुरी छ।
कुनै जमाना यस्तो थियो, जहाँ एउटी बुहारीले मरीमरी काम गर्दा पनि पेटभरि खान पाउँदैनथिन्। तर अहिले समय फेरिएको छ। हो, अब हामीले यसैगरी हाम्रो समाजमा अझैसम्म कायम कुसंस्कार तोड्न कम्मर कसेर लाग्नुपर्छ। जुन संस्कारले हामीलाई स्वतन्त्रपूर्वक हिँड्डुल गर्न, आफूले चाहेको काम गर्न बन्देज लगाएको छ भने महिला भएकै कारण लैंगिक विभेद भोग्न पनि बाध्य बनाएको छ।
आठ महिनाअघि नेपाल महिला संघ गुल्मीकी सभापति तथा महिला अधिकारकर्मी विष्णु सापकोटाले आफ्नी आमाको मृत्युपछि किरिया गर्न पाउनुपर्छ भनेर समाजसँगै लडाइँ गर्नुपर्यो। उनका सहोदर भाइले दिदी आएपछि मात्र आमाको दाहसंस्कार गर्ने अडान लिए पनि समाज त्यो मान्न तयार भएन। सापकोटाले आफू घटनास्थलमा नपुगुन्जेल दाहसंस्कारका लागि नलैजानू भनेर फोन गरिसकेकी थिइन्।
एकातिर दिदीभिनाजु, भाइबहिनी, ज्वाइँको अडान र दिदीको दबाबका कारण निधन हुँदासाथ लास जलाउन तयार व्यक्तिहरू एकाएक असफल जस्तै बने। अविवाहित बसेरै आमाको अन्तिम अवस्थासम्म रेखदेख गरी पालनपोषण गरेकी सापकोटा अन्तिम समयमा पुग्न त पुगिन्। तर उनले आमाको निधनमा शोक मनाउनु त कता हो कता आमालाई छोरा र छोरी दुवैले दागबत्ती दिन पाउनुपर्छ भनेर उल्टै रोइकराइ पो गर्नुपर्यो।
आमाको निधन भएपछि दाहसंस्कारका लागि शाहघाट पुगेका मलामीसँग उनले पैंठेजोरी खेलेर दागबत्ती त दिइन् तर फेरि किरिया बस्न पाउनुपर्छ भनेर लड्नुपर्यो। सामाजिक चुनौतीको सामना गर्दै सापकोटाले भाइसँगै किरियामा बसिन्।
यी सबै घटनाक्रम हेर्दा लाग्छ एउटी सन्तानले आफ्नी आमाका लागि समर्पित हुन खोज्दा पनि हाम्रो सामाजिक कुरीतिले त्यसलाई सहजरूपमा स्वीकार्न सक्दैन। अबका दिनमा चेलीले यस्ता कुसंस्कार हटाउन आआफ्नो ठाउँबाट उठ्नुपर्छ। आँट गर्यो भने असम्भव केही रहेनछ भन्ने उदाहरण बनिन् सापकोटा।
अहिले पनि नेपालका अधिकांश ग्रामीण क्षेत्रमा बस्ने महिलाले महिनावारी भएको समयमा भान्छा नछुने, पतिसँग नछुने, सुत्ने विस्तारा फरक गर्ने परम्परा छ। अझ छोरीले त पहिलोपटक नछुने हुँदा २२ दिन, दोस्रोपटक ११ दिन, तेस्रोपटक ९ दिन, चौथोपटक ७ दिन र पाँचौं पटक पाँच दिनसम्म घरदेखि टाढै रहेको गाउँ लुक्न जानुपर्ने हुन्छ।
यस्ता खाले सामाजिक रुढिवादीलाई आजभोलि धेरै महिलाले अनुशरण गर्न छोडिसकेका छन्। आधुनिक समाजको घुलमिलसँगै स्वास्थ्यका हिसाबले जोखिम मोलिरहेका महिलाले महिनावारी (नछुने) हुँदा अन्धविश्वासी कुरामा भन्दा बढी स्वास्थ्यमा ध्यान दिने गर्छन्।
सामाजिक एवं धार्मिक संस्कारअनुसार महिलाले महिनावारी भएको समयमा लुक्न नजाने र भित्र पस्ने गरेमा पाप लाग्ने, अशुभ हुने, देउता रिसाउँछन् भन्ने प्रचलन छ। अझ अधिकांश महिलाले त महिनावारी हुँदा के गरी छोइएको रहेछ भने पनि त्यो पाप कटाउन व्रत बस्ने गर्छन्। घरमा समेत महिला महिनावारी भएमा दूध खान दिइँदैन। सभ्य समाजमा यस्ता गलत संस्कार विस्तारै हट्दैछ। तसर्थ हामी सबै एकजुट भए यस्ता संस्कार छिटो हट्नेछ। -अन्नपूर्ण पोस्ट दैनिकबाट
0 प्रतिकृयाहरु